लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

छैटौँ चरणको मतदान जारी, ५८ सिटमा ८८९ उम्मेदवार

नयाँदिल्ली । भारतमा सन् २०२४ को १८ औँ लोकसभा निर्वाचनको छैटौँ चरणको मतदान भइरहेको छ । शनिबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।

छैटौँ चरणमा ८ राज्यका ५८ सिटमा मतदान भइरहेको हो । शनिबार मतदान भइरहेको सात राज्य र एक केन्द्र शासित प्रदेशमा हो ।

जम्मू–कश्मीरको अनन्तनाग–राजौरी सिटमा तेस्रो चरणमा चुनाव हुनुपर्ने थियो । त्यतिबेला स्थगित भएको मतदान अहिले भइरहेको हो ।

यो चरणमा तीन केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान, कृष्णलाल सिंह गुर्जर र राव इन्द्रजित सिंह मैदानमा छन् । ३ पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, मनोहरलाल खट्टर र जगदम्बिका पाल पनि चुनाव लडिरहेका छन् ।

योसँगै मनोज तिवारी, मेनका गान्धी, नवीन जिन्दल, राज बब्बर, निरहुवा पनि चुनावी मैदानमा छन् ।

चुनाव आयोगका अनुसार छैटौँ चरणमा ८८९ उम्मेदवार चुनाव लडिरहेका छन् । जसमा ७९७ पुरुष तथा ९२ महिला हुन् ।

सबैभन्दा धनी भाजपाका हरियाणाको कुरुक्षेत्र सिटका नवीन जिन्दल हुन् । उनीसँग एक हजार २४१ करोड भारुको सम्पत्ति छ ।

सन् २०१९ मा यी सिटमा भाजपा ४०, बसपा ४, बजेडी ४, जेडीयू ३, टीएमसी ३, एलजेपी १, सपा १ र आजसूले १ सिट जितेको थियो । कांग्रेस र आपले खाता खोलेको थिएन । यसपालिको आँकलन भने रोमाञ्चक हुन सक्छ ।

अन्तिम चरणको मतदान १ जुन अर्थात् जेठ १९ गते हुनेछ । मतगणना ४ जुन जेठ २२ गते हुनेछ ।

गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा लामो चुनाव सात चरणमा सकिँदैछ ।

पाँचौँ चरणको मतदान
पाँचौँ चरणको मतदान २० मेमा सकियो । ६ राज्य र २ केन्द्र शासित प्रदेशका ४९ सिटमा मतदान भएको हो ।

पाँचौँ चरणमा जम्मा ६३ प्रतिशत मतदान भएको छ । पश्चिम बंगालमा सबैभन्दा बढी ७६.०५ प्रतिशत तथा महाराष्ट्रमा सबैभन्दा कम ५४.३३ प्रतिशत मतदान भएको छ ।

यो चरणमा राजनाथ सिंह, स्मृति ईरानी र पियुष गोयलसहित नौ केन्द्रीय मन्त्री मैदानमा छन् । रायबरेलीबाट वायनाड सांसद कांग्रेस नेता राहुल गान्धी पनि चुनाव लडिरहेका छन् ।

चुनाव आयोगका अनुसार यो चरणमा ६९५ उम्मेदवार मैदानमा छन् । जसमा ६१३ पुरुष र ८३ महिला उम्मेदवार छन् ।

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) का अनुसार १५९ उम्मेदवारलाई आपराधिक आरोपका घटना दर्ता भएका छन् ।

३३ प्रतिशत उम्मेदवार करोडपति छन् भने एक उम्मेदवारको सम्पत्ति शून्य बताइएको छ ।

सन् २०१९ मा यी सिटहरुमा सबैभन्दा बढी भाजपाले ३२, शिवसेनाले ७, टीएमसीले ४ सिट जितेको थियो ।

कांग्रेसले केबल यूपीको रायबरेली सिट जितेको थियो । अन्यले पाँच सिट जितेको थियो ।

पश्चिम बंगालको बैरकपुर सिटमा भाजपा उम्मेदवार अर्जुन सिंहले टीएमसी उम्मेदवार पार्थ भौमिकमाथि पैसा बाँडेको आरोप लगाएका छन् ।

चौथो चरणको मतदान
चौथो चरणमा मे १३ तारिख सोमबार १० राज्य र एक केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको ९६ सिटका लागि मतदान भएको थियो ।

योसँगै आन्ध्र प्रदेशको १७५ तथा ओडिशाको २८ विधानसभा सिटमा पनि मतदान भएको हो ।

यो चरणमा ५ केन्द्रीय मन्त्री चुनाव लडेका छन् । त्यसैगरी भारतका दुई सबैभन्दा धनी व्यक्तिहरु चुनावी मैदानमा छन् । आन्ध्र प्रदेशका के गुंटुरका टीडीपी प्रत्यासीसँग ५ हजार ७०५ करोड भारुको सम्पत्ति छ भने तेलंगानाको चेवेल्लका भाजपा प्रत्यासीसँग ४ हजार ५६८ करोड भारु सम्पत्ति छ ।

सन् २०१९ मा यो क्षेत्रमा भाजपाले ४२, वाईएसआर कांग्रेसले २२, बीआरएसले ९ तथा कांग्रेसले ६ सिट जितेको थियो । अन्यले १७ सिट जितेका थिए ।

चौथो चरणको मतदान सकिएपछि लोकसभामा ५४३ सिटमा ३८० सिटको मतदान सकिएको थियो ।

यस्तो छ तेस्रो चरणको मतदानको आँकडा
मे ७ तारिखमा ११ राज्यमा ९३ सिटका लागि भएको मतदानमा ६८ प्रतिशत मत खसेको छ । चुनाव आयोगले ६७.९३ प्रतिशत मत खसेको छ । सन् २०१९ को चुनावमा तेस्रो चरणमा ११६ सिटमा मतदान भएकामा ६८.४० प्रतिशत मत खसेको थियो ।

चुनाव आयोगका अनुसार असममा सबैभन्दा बढी ८१.७१ प्रतिशत मत खसेको छ । उत्तर प्रदेशमा सबैभन्दा कम ५७ प्रतिशत मत खसेको छ । पश्चिम बंगालमा ७६.५२ प्रतिशत, गोवामा ७५.२० प्रतिशत तथा गोवामा ५९.५१ प्रतिशत मत खसेको छ ।

पश्चिम बंगालमा भाजपा उम्मेदवार र टीएमसी समर्थकबचि झडप भएको छ । उत्तर प्रदेशको सम्भलमा पुलिसले लाठीचार्ज गर्दा केही घाइते भएका छन् ।

बिहारमा मतदानका दौरान पीठासिन अधिकारी तथा होमगार्ड जवानको मृत्यु भएको छ ।

छत्तीसगढको जशपुरमा मतदान गर्न पुगेका एक वृद्धको मृत्यु भएको छ । यो चरणको निर्वाचनमा ७ केन्द्रीय मन्त्री तथा ४ पूर्व मुख्यमन्त्री मैदानमा रहेकामा १० राज्य र एक केन्द्र शासित प्रदेशमा मतदान भएको हो ।

मैदानमा उत्रिएका ७ केन्द्रीय मन्त्रीहरुमा अमित शाह, स्वास्थ्य मन्त्री मनसुख मन्डाविया र मन्त्री ज्योतिरादित्य सिन्धियासमेत रहेका छन् ।

चुनाव आयोगका अनुसार तेस्रो चरणको निर्वाचनमा १ हजार ३५२ उम्मेदवार मैदानमा रहेका छन् । जसमा १ हजार २२९ पुरुष, १२३ महिला उम्मेदवार रहेका छन् ।

एसोसिएसन फर डेमोक्रेटिक रिफम्र्स (एडीआर) को रिपोर्ट २४४ उम्मेदवार आपराधिक छविका हुन् । ३९२ उम्मेदवार करोडपति छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमितकुमार शाहले यो चरणमा मतदान गरेका छन् ।

दोस्रो चरणको मतदान    
२६ अप्रिलमा भएको दोस्रो चरणको मतदान १३ राज्यका ८८ सिटमा भएको हो । ६८ प्रतिशत मतदान भएको चुनाव आयोगले जनाएको छ ।

दोस्रो चरणमा ६७.८८ प्रतिशत मतदान भएको हो । सबैभन्दा बढी त्रिपुरामा ७९.६६ प्रतिशत मतदान भएको छ । सबैभन्दा कम उत्तर प्रदेशमा ५४.५८ प्रतिशत मतदान भएको हो । वर्षाका कारणले पनि दोस्रो चरणमा कम मतदान भएको बताइन्छ ।

सन् २०१९ को निर्वाचनमा ७०.०५ प्रतिशत यो क्षेत्रमा मतदान भएको थियो । यसपालि लोकसभा अध्यक्ष, ५ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्रीसँगै कांग्रेस नेता राहुल गान्धी तथा अभिनेत्री हेमा मालिनीसमेत मैदानमा छन् ।

राहुल गान्धी वायनाड, शशि थरुर तिरुअनन्तपुरम र हेमा मालिनी मथुराबाट चुनावी मैदानमा उत्रिएकी छिन् ।

दोस्रो चरणमा ८९ सिटमा मतदान हुनुपर्ने भए पनि मध्य प्रदेशको बैतुल सिटमा बसपाका प्रत्यासीको निधन भएपछि ८८ सिटमा मात्र भइरहेको हो । अब उक्त क्षेत्रमा ७ मे मा चुनाव हुनेछ ।

आउटर मणिपुरका केही भागमा पुनः मतदान भएको छ । चुनाव आयोगले यी सिटमा दुई चरणमा चुनाव गर्ने घोषणा गरेको थियो ।

सन् २०१९ मा दोस्रो चरणमा सबैभन्दा बढी भारतीय जनता पार्टी भाजपाको ५० तथा एडीए सहयोगी दललाई ८ सिट मिलेको थियो । कांग्रेसले २१ सिट तथा अन्यले ९ सिट जितेका थिए ।

चुनाव आयोगका अनुसार दोस्रो चरणमा १ हजार १९८ उम्मेदवार मैदानमा छन् । जसमा पुरुष १ हजार ९७ तथा महिला सय उम्मेदवार रहेका छन् । एक जना तेस्रो लिंगी रहेका छन् ।

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) का अनुसार यो चरणमा चुनाव लडिरहेका २१ प्रतिशत अर्थात् २५० उम्मेदवारविरुद्ध अपराध मुद्दा दर्ता भएको छ ।

३९० उम्मेदवार करोडपति छन् । ६ जनाको सम्पत्ति शून्य बताइएको छ । ५०० उम्मेदवारसँग एक हजार रुपैयाँको सम्पत्ति बताइएको छ ।

दोस्रो चरणमा केरलमा २०, कर्नाटकमा १४, राजस्थानमा १३, महाराष्ट्रमा ८, उत्तरप्रदेशमा ८, मध्यप्रदेशमा ६, असममा ५, बिहारमा ५, छत्तीसगढमा ३, पश्चिम बंगालमा ३, त्रिपुरामा १, जम्मूकश्मीरमा १ र मणिपुरमा १ सिटमा चुनाव भइरहेको छ ।

पहिलो चरणमा २१ राज्यका १०२ सिटमा चुनाव, ६८ प्रतिशत मतदानः
पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यको १०२ सिटमा मतदान भएको थियो । ६८.२९ प्रतिशत मत खसेको चुनाव आयोगले जनाएको छ । सन् २०१९ को चुनावको  तुलनामा यसपालि १ प्रतिशत कम मत खसेको छ । २०१९ मा पहिलो चरणमा ९१ सिटमा ६९.४३ प्रतिशत मत खसेको थियो ।

यसपालि सबैभन्दा बढी लक्षद्वीपमा ८३ प्रतिशत र सबैभन्दा कम बिहारमा ४९ प्रतिशत मत खसेको छ ।

यससँगै अरुणाचल प्रदेशको ६० र सिक्किमको ३२ विधानसभा सिटका लािग पनि मतदान भएको छ । दुवै राज्यका एक एक लोकसभा सिटमा सँगसँगै मतदान भएको छ । अरुणाचलमा ७६.४४ तथा सिक्किममा ७९.८६ प्रतिशत मतदान भएको छ ।

मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर आउटर) मा पनि पहिलो चरणमै मतदान भएको छ ।

आउटर सिटका केही भागमा २६ अप्रिलमा मतदान हुनेछ । जसमा आठ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र पूर्वराज्यपाल मैदानमा रहेका छन् ।

सन् २०१९ मा यिनै १०२ लोकसभा सिटमा भाजपाले ४०, डीएमकेले २४, कांग्रेसले १५ सिट जितेको थियो भने अन्यले २३ सिट जितेका थिए । यसपटक पनि यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा भएको छ ।

दुई राज्य पश्चिम बंगाल र मणिपुरमा भोटिङका क्रममा हिंसा भएको छ । कयौँ घाइते भएका छन् ।

मणिपुरमा पूर्वी इम्फाल जिल्लाको मोइरंगकम्पूमा भोटिङ मेसिन नै जलाइएको छ ।

नागाल्याण्डका ६ जिल्लामा मतदान लगभग शून्य भएको छ । मोन, लान्गलेङ, तुएनसांग, नोकलाक, शामाटोर र किफिरेमा शून्य मत खसेको हो । यो क्षेत्रमा इस्टर्न नागाल्याण्ड पिपुल्स अर्गनाइजेसनले अलग प्रशासन र पहिले भन्दा बढी वित्तीय स्वतन्त्रताको माग गरेको छ । यी जिल्लामा चुनाव वहिस्कार गर्न अर्गनाइजेसनले अपील गरेको थियो ।

पहिलो चरणमा १ हजार ६२५ उम्मेदवार मैदानमा रहेका छन् । जसमा पुरुष १ हजार ४९१ तथा महिला उम्मेदवार १३४ जना रहेका छन् ।

अनुमान मोदी सरकार निरन्तर

चुनावको पूर्वसन्धामा अनुमान बढिरहेको छ । इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ ।

मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको हो ।

५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ ।

भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ ।

प्रदेशअनुसार फरक फरक सिट जित्ने अनुमान गरिएको छ । यस्तो छ सर्वेको आँकडा–

उत्तर प्रदेशमा रहेको ८० मध्ये भाजपाले ७० सिट जित्न सक्नेछ । समाजवादीले ७, अपना दलले २ तथा कांग्रेसले मात्र १ सिट जित्ने दाबी गरिएको छ ।

बिहारको ४० सिटमध्ये भाजपाले ३२, आरजेडी र कम्युनिष्ट पार्टीहरुले ७ तथा कांग्रेसले १ सिट जित्न सक्नेछ ।

पश्चिम बंगालका ४२ मध्ये भाजपाले १९ तथा कांग्रेसले मुस्किलले एक सिट जित्न सक्नेछ । तृणमूलले २२ सिट जित्न सक्नेछ ।

महाराष्ट्रका ४८ मध्ये भाजपाले २२, कांग्रेसले १२ तथा शिवसेना, यूबीटी र एनसीपीले १४ सिट जित्न सक्नेछ ।

मध्यप्रदेशमा २९ सिटमध्ये भाजपाले २७ तथा कांग्रेसले २ सिट जित्ने आँकलन गरिएको छ ।

त्यस्तै सर्भे अनुसार राजस्थानको २५ सिटमा भाजपाले क्लिन स्वीप अर्थात सबै सिट जित्नेछ ।

झारखण्डको १४ सिटमध्ये भाजपाले ११ जेएमएमले २, एजेएसयूले १ सिट जित्दा कांग्रेस रित्तिने सर्वे गरिएको छ ।

पञ्जाबको १३ सिटमा कसैले पनि बहुमत नल्याउने अनुमान गरिएको छ । जसमा कांग्रेस र आम आदमी पार्टीले समान ५–५ सिट जित्दा भाजपाले २ तथा अकाली दलले १ सिट जित्ने अनुमान गरिएको छ ।

हरियाणाको १० सिटमध्ये भाजपाले ८ सिट जित्नेछ भने कांग्रेसले २ सिट जित्नेछ । आइएएनएलडीले कुनै सिट नजित्ने अनुमान गरिएको छ ।

तेलंगानाको १७ सिटमा कांग्रेसले १० सिट जित्ने अनुमान गरिएको छ । यहाँ कांग्रेसले ७ सिटमा सुधार गर्ने अनुमान भइरहेको हो । भाजपाले ३ सिट जित्दा टीआरएसले ३ सिट तथा एआईएमआईएमले १ सिट जित्ने अनुमान गरिएको छ ।

असमको १४ सिटमा भाजपाले १२ सिट, कांग्रेसले २ सिट तथा एआईयूडीएफले कुनै सिट नजित्ने अनुमान गरिएको छ ।

तमिलनाडुको ३९ सिटमा डीएमकेले ३१ तथा कांग्रेसले ८ सिट जित्दा भाजपाले खाता नै नखोल्ने अनुमान गरिएको छ ।

केरलमा पनि भाजपाले कुनै सिट नजित्ने आँकलन गरिएको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्दा एलडीएफले २ सिट जित्ने अनुमान गरिएको छ ।

हिमाचल प्रदेशको ४ सिटमा भाजपाले क्निन स्वीप गर्ने अनुमान गरिएको छ ।


प्रकाशित : २०८१ जेष्ठ १२, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप