लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मध्यरातको २ बजे श्रीमान सुतेको घरमा श्रीमतीको ‘रेड’

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।

एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाको कुरा सुनेर प्रहरीहरू पनि छक्क परे । प्रहरीले विपनालाई साधे, ‘तपाईँको श्रीमानले अर्को कोही मन पराउँछन् कि क्या हो ?’ विपनाले एउटी युवतीमाथि शंका लागेको जवाफ दिइन् । प्रहरीले विपनाको श्रीमानको नम्बर मागेर फोन गरे । उनले उठाएनन् । ‘बच्चा बिरामी छ भनेर फोन गर्नुस्, अस्पताल आएपछि हामी समातौंला’ भन्दै प्रहरीले विपनालाई तरिका सिकाए । विपनाले जवाफ दिइन्, अस्पतालमा प्रहरी आएर लग्यो भन्दा बाहिर राम्रो सन्देश जाँदैन, झन् बेइज्ज्यत हुन्छ । श्रीमानले घर आएका बेला राम्रै व्यवहार गर्ने गरेको भन्दै उनले सकभर छरछिमेकले थाहा नपाई लफडा शान्त होस् भन्ने अभिप्राय राखिन् । बहुविवाहको मुद्दा हाल भन्दा पनि उनले मानिन् ।

अन्तिममा केही नलागेपछि छोरो बिरामी भएर अल्का अस्पतालमा लगिएको खबर गरेपछि विपनाका श्रीमान अस्पताल पुगे । तर, साँझ फेरि घर गएनन् । त्यही रात विपनाले ९ बजेतिर श्रीमान अर्की युवतीसँग बसेको घर पत्ता लगाएर प्रहरीलाई फोन गरिन् ।

प्रहरीले टोली तयार गर्दा रातको ११ बजिसकेको हुन्छ । अब भोलि बिहानै ‘रेड’ गर्ने भनेर प्रहरीले विपनालाई थमथम्याउँछन् । तर, त्यही राति २ बजे विपना परिवारका सदस्य र छरछिमेक लिएर श्रीमान् सुतेकै कोठामा पुग्छिन् । अर्कै युवतीसँग श्रीमानलाई भेटेपछि कुटाकुट हुन्छ । तत्कालै प्रहरी पुगेर विपनाका श्रीमान र अर्की युवतीलाई प्रहरी कार्यालयमा लगे ।

‘किन घर नगएको र अर्कै केटी राखेर बसेको’ भनी प्रहरीले प्रश्न गर्दा विपनाका श्रीमान भन्छन्, ‘मलाई यसले धेरै कुट्छे ।’ प्रहरी छक्क पर्छन् । सानो बच्चा छाडेर यसरी बाहिर केटी राख्ने हो ? भन्दै प्रहरीले प्रश्न गरेपछि विपनाले प्रतिउत्तरमा भन्छिन्, यो जहिल्यै लामालामा कपाल लिएर मसँग बिस्तारामा आउँछ, म कसरी योसँग निदाऊँ । विपनाले नै प्रहरीमा भने अनुसार एकपटक बाहिर केटी राखेको थाहा पाएपछि विपनाले चक्कु लिएर श्रीमानलाई लखेटेकी थिइन् । प्रहरीले सबै सुनेपछि मिलेर बस्न सुझाव दिँदा विपनाका श्रीमानले आफू कुनै पनि हालतमा विपनासँग सँगै नबस्ने बरु डिभोर्स गर्ने जवाफ दिन्छन् । राम्रै आईटी कम्पनीमा काम गर्ने विपनाका श्रीमानले जग्गा जमिन र अन्य सम्पत्ति विपनाकै नाममा राखिदिएका हुन्छन् । तर, पनि विपनासँग डिभोर्स मागिरहेको देखेर प्रहरीले सकभर उनीहरूको घर नबिग्रियोस् भन्ने हेतुले सम्झाउन प्रयास गरेका थिए ।

प्रहरीले दुवैलाई पशुपतिनाथको दर्शन गरेर आउनू अनि के–के देखिन्छ भन्नू भनेर पठाउँछन् । दुवै पशुपति पुग्छन् । प्रहरीले के देख्यौ भनेर सोध्दा विपना भन्छिन्, ‘जिन्दगी यस्तै रहेछ, आखिर एक दिन मर्नैपर्ने रहेछ । सकभर मिलेर बस्नुपर्ने रहेछ ।’ विपनाका श्रीमानले भने ‘मोजमस्ती र रमाइलो बाँचुञ्जेललाई मात्रै हो, मरेपछि सकियो’ भन्दै आफू कसैसँग सरोकार नराख्ने जवाफ दिन्छन् । अझै उनीहरूको कुरा नमिलेपछि महिला सेलका प्रहरीहरू आजित हुन्छन् । दुवैलाई जिल्ला अदालत ललितपुर पठाइदिन्छन् । अदालतमा अहिले यो मुद्दा विचाराधीन छ । तर, पनि विपनाले घर मिलाइदिनू भन्दै प्रहरीलाई अनुनयविनय गर्न छाडेकी छैनन् । उनका श्रीमानले भने कसरी हुन्छ अलग्गै बस्ने वातावरण बनाउन प्रहरीलाई आग्रह गर्दै आएका छन् ।

बलात्कार मुद्दामा होस्टाइल, न नागरिकता, न जन्मदर्ता 

सर्लाहीका प्रमोद साह (नाम परिवर्तन) ललितपुरको एउटा एनजीओमा काम गर्थे । उनले होस्टेल पनि चलाउँथे । होस्टेलमा बस्दै गर्दा शर्मिला तामाङ (नाम परिवर्तन)लाई मन पराए । विवाहित प्रमोदले विवाह गरेको छैन भन्दै ढाँटेर शर्मिलालाई होस्टेलमै राखे । प्रमोद ४६ र शर्मिला १६ वर्षकी थिइन् । होस्टेलमा बस्दै गर्दा शर्मिलाले १७ वर्षको उमेरमै बच्चा जन्माइन् । तब मात्रै थाहा पाइन्, प्रमोदको विवाह पहिल्यै भएको रहेछ भनेर ।

शर्मिलाले आफ्नो नागरिकता र बच्चाको जन्मदर्ता गरिदिन प्रमोदसँग अनुनयविनय गरिन् । तर, प्रमोदले आनाकानी गरिरहे । शर्मिलालाई माइत पठाइदिए । माइत बसेको एक महिनापछि ललितपुर आएर शर्मिलाले प्रहरीको महिला सेलमा उजुरी गरिन् । प्रहरीलाई सबै बेलिविस्तार लगाइन् । प्रहरीले प्रमोदलाई खोज्यो । सम्पर्कमा आएपछि उनले आफू विभिन्न बिमारीका कारण अस्पतालमा उपचाररत रहेको जवाफ दिए ।

अस्पतालका चिकित्सकले लेखिदिएका पत्रसहित उनी प्रहरी कार्यालयमा हाजिर भएपछि प्रहरीले तारेखमा राख्यो । शर्मिला होस्टेलमा गइन् । उनलाई होस्टेलमा छिर्न दिइएन । प्रमोदको ललितपुरकै घरमा पनि गइन्, त्यहाँ पनि भित्र छिर्न नदिई फिर्ता पठाइयो । शुरूमा राजीखुसी प्रमोदसँग लिभिङ टुगेदरमा बसेकी शर्मिलाको एउटै धोको थियो, आफ्नो नागरिकता र बच्चाको जन्मदर्ता ।

यी दुवै विकल्पका लागि प्रहरीले सक्दो प्रयास गर्न खोज्यो । केही नलागेपछि बलात्कारको उजुरी लिने योजना बनायो । तर, शर्मिलाले यो केस आउनुअघि नै बलात्कार मुद्दा दर्ता गराएकी रहिछन् । उक्त मुद्दामा शर्मिला होस्टाइल भएर अदालतमा बयान दिएकै कारण प्रमोद छुटेका रहेछन् । ललितपुर महिला प्रहरी सेलले प्रमोदलाई जतिपटक सम्झाउँदा पनि नमानेपछि शर्मिलालाई अदालत गुहार्न पठायो । अहिले मुद्दा अदालतमा विचाराधीन छ ।

श्रीमानलाई जेल नहाल्न श्रीमतीकै हारगुहार

डिभोर्सी पुरुष र डिभोर्सी महिलाको सहमतिको सम्बन्ध बिग्रिएपछि भएका घटनाबारे प्रहरी सेलमा परेको उजुरी झन् रोचक र संवेदनशील छ ।

एक महिनाअघि ललितपुरकै महिला सेलमा सिरहाका नमिन मोहम्मद मियाँ (नाम परिवर्तन) विरुद्ध धादिङकी कान्छी तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुग्छिन् । ​नमिनले आफूलाई खान लगाउन दिएन, पसल तोडफोड गरिदियो भन्ने उनको गुनासो हुन्छ ।

प्रहरीले नमिनलाई बोलाएर छलफल गराउँदा उनले सबै क्षतिपूर्ति दिने कागज गर्छन् । तर, त्यतिबेलै कान्छीले अर्को घटनाको अन्तर्य खोल्छिन्– ‘नमिनले आफ्नो जेठी श्रीमती हुँदाहुँदै पनि मलाई विवाह गर्छु भन्दै झुक्याएर लिभिङ टुगेदरमा राख्यो । त्यतिमात्रै होइन, मादक पदार्थ सेवन गरेर जहिल्यै कुटपीट गर्छ ।’ आफू अब नमिनसँग नबस्ने भन्दै कान्छीले बाटो खोलिदिन प्रहरीसँग आग्रह गर्छिन् । प्रहरीले बच्चा भइसकेको र आगामी दिन झन् कष्टकर हुने भएकाले मिलेर बस्न कान्छीलाई सम्झाउँछन् । उनी मान्दिनन् ।

उनीहरूले विवाह गरेको पर्याप्त प्रमाण भेटिँदैन । त्यसैका फाइदा उठाउँदै नमिनले कान्छीलाई हिंसात्मक व्यवहार प्रदर्शन गर्दै आएको देखिन्छ ।

उता श्रीमानलाई प्रहरीले समातेको थाहा पाएपछि सिरहाबाट नमिनकी जेठी श्रीमती ललितपुर आउँछिन् ।

प्रहरीलाई हात जोडेर भन्छिन्, ‘बरु म बहिनी (कान्छी) र बच्चा दुवैलाई घर लैजान्छु, तर मेरो श्रीमानलाई केही नगर्नुस् ।’ प्रहरी छक्क पर्छन् । कान्छीलाई सम्झाउँछन्, कान्छी मान्दिनन् । बच्चा नमिनलाई छाडेर अन्तै बस्छिन् । बच्चा रोएर हैरान लगाएपछि नमिनले पुनः महिला सेलमा पुगेर आफू कान्छीलाई भेट्न चाहेको बताउँछन् । प्रहरीले भेटेर केही हुँदैन जाऊ भन्छन् । एकछिन बच्चा र आमा सँगै राखेर नमिन पुनः बच्चा बोकेर डेरा फर्किछन् । यो क्रम चलिरहन्छ ।

***

यी ललितपुर जिल्ला प्रहरी परिसरको महिला सेलमा परेका केही उजुरीका उदाहरण मात्रै हुन् । सेलकी प्रहरी निरीक्षक दाक्षेकी शेर्पा भन्छिन्, ‘हाम्रो सेलमा लिभिङ टुगेदर र विवाहेत्तरको सम्बन्धले घरबार बिग्रिएपछि उजुरी आउने गरेका छन् । पढेलेखेका र राम्रै आर्थिक हैसियत बनाएकैले पनि घरेलु हिंसा गरेको देखिन्छ ।’

शेर्पाका अनुसार पीडक र पीडितमा विशेष गरि अन्य जिल्लाबाट ललितपुरमा कामकाजी रूपमा बसेकाहरू धेरै छन् ।

परिसरका अनुसार गत आर्थिक वर्ष घरेलु हिंसाका चार सय २३ वटा उजुरी परेका थिए । यो आर्थिक वर्षको चैतसम्ममा २ सय ९ वटा उजुरी परेका छन् ।

धेरैजसो उजुरीमा प्रहरीले मिलापत्र गराएर छाडे पनि केही मात्रै अदालतमा पुग्ने गरेका छन् । पीडितहरू कानुनी कारबाहीमा जानै नचाहने र गइहाले पनि अदालतमा ‘होस्टाइल’ हुने प्रवृत्तिका कारण समस्या देखिएको परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

‘उजुरीको प्रकृति हेर्दा हाम्रो समाज कता पुग्दैछ भनेर चिन्ताले सताउँछ । केटाकेटी हरायो भन्ने सूचना आउँछ, खोज्यो लिभिङ टुगेदरमा हुन्छन्,’ सुवेदीले लोकान्तरसँग भने, ‘घरेलु हिंसाका घटना प्रायः विवाहेत्तर सम्बन्धका कारण भएको देखिन्छ ।’

उनले लिभिङ टुगेदरका बारेमा कानूनमा स्पष्ट व्यवस्था नहुँदा प्रहरीले अदालतमा मुद्दा लैजान समस्या रहेको बताए ।


प्रकाशित : २०८१ जेष्ठ १३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप