सुर्खेतको वीरेन्द्रनगर भित्रका विद्यालय अत्यधिक गर्मी बढेपछि आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले जानकारी दिए । उनका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिए । यसबारे आधिकारिक निर्णय भने भइनसकेको उनको भनाइ छ ।


समाचार


