प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीलाई सहभागी गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले केही दिनभित्रमा मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।
‘नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई भोट हालेपछि सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ । उहाँले सरकारमा सहभागी हुनुस् भनिसक्नुभएको छ,’ आचार्यले भने, ‘दलहरूबीच छलफल हुँदैछ । तर कुन मन्त्रालय भनेर टुंगो लागिसकेको छैन ।’
सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नाउपालाई सरकारमा लान खोजिएको हो । माओवादी केन्द्रबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने प्रचण्डको तयारी छ ।
नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै सरकारमा पठाउने तयारी गरेको छ । श्रेष्ठ आफैंले पनि नाउपा सरकारमा सहभागी हुने पक्का भइसकेको जानकारी दिइन् ।
‘सरकारमा सहभागी हुने पक्का भइसक्यो,’ उनले लोकान्तरसँग भनिन्, ‘तर एक हप्तासम्म लाग्न सक्छ । मन्त्रालयको पनि टुंगो लागिसकेको छैन । तर हाम्रो पार्टीबाट म आफैं सरकारमा जाने तयारी भएको छ ।’
यस अघि पनि श्रेष्ठ प्रचण्डको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी थिइन् । प्रतिनिधि सभामा नाउपाका ४ सांसद छन् ।


समाचार


