काठमाडौँ । विवेकशील साझा पार्टीले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेनजी’ पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको कडा निन्दा गरेको छ। प्रवक्ता आशुतोष प्रधानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा प्रहरीको गोली प्रहारबाट दर्जनौँ युवाको हत्या भएको घटनालाई ‘इतिहासकै निर्दयी घटना’ भनिएको छ।
पार्टीले सरकारद्वारा मारिएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ र उनीहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएको आरोप लगाउँदै विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख कुबेरसिंह खापुङको तत्काल राजीनामा माग गरेको छ।
विवेकशील साझा पार्टीले घटनाको अन्तर्राष्ट्रिय स्तरको छानबिन आयोगबाट अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखेको छ। पार्टीले सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुकाउने सरकारको खराब मनसायप्रति युवाहरूमा आक्रोश बढेको र सोही आक्रोश कुशासन विरोधी आन्दोलनमा परिणत भएको ठहर गरेको छ।
अन्तमा, विज्ञप्तिमा विवेकशील साझा पार्टीले राष्ट्रको समृद्धिको माग गर्दै शहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘जेनजी’ पुस्ताका आयोजकहरूलाई गम्भीरताका साथ यो घटनाको समाधान खोज्न अपिल गरेको छ।