लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ओलीको सन्देश : कार्की सरकार असंवैधानिक, चुनाव नै गर्दैन

आइतबार, ०२ कात्तिक २०८२, १६ : ५६

 सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिकको आरोप लगाउँदै चुनाव गराउन नचाहेको आरोप लगाए।
  • ओलीले ‘नेपोबेबी’ जस्ता अभियानको विरोध गर्दै युवा तथा बालबालिकाहरूलाई मानसिक तनाव दिएको आरोप लगाए।
  • उनले आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिँदै पार्टीमा नेतृत्वको लागि सक्षम नेता रहेको बताए।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई असंवैधानिकको संज्ञा दिँदै चुनाव गराउनै नचाहेको आरोप लगाएका छन् ।

आइतबार राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई मिचेर सरकार गठन गरिएको र दलका नेताहरूलाई थुन्ने षड्यन्त्र भइरहेको दाबी गरे ।

अन्तरक्रियामा पछिल्लो समय सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ बहसप्रति लक्षित गर्दै ओलीले यस्ता अनावश्यक अभियानको आफूले समर्थन नगर्ने स्पष्ट पारे । उनले भने, ‘के हो नेपोबेबी ? यस्तो नचाहिने क्याम्पेनको म समर्थन गर्दिनँ ।’ उनले छोराछोरीलाई अभिभावकले माया गर्नु, हेरचाह गर्नु र अवसर दिनु स्वाभाविक भएको बताउँदै यसलाई नकारात्मक रूपमा चित्रण गरेर बालबालिका तथा युवाहरूलाई मानसिक तनाव दिइएको आरोप लगाए ।

आफ्नो पालामा प्रेस स्वतन्त्रता र नागरिक अधिकार सुरक्षित रहेको दाबी गर्दै ओलीले अहिले समाजमा त्रासको वातावरण सिर्जना भएको बताए । ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरूले लेखेको विषयमा हमला गर्ला कि भनेर डराउँदै हिँड्नुपर्ने, सेल्फ सेन्सरसिप गर्नुपर्ने अवस्था थिएन,’ उनले भने, ‘अहिले साथीहरूलाई म फेरि सरकारमा फर्किन्छु कि भन्ने चिन्ता छ, किनभने त्रास छ नि मनमा ।’

सरकार र आन्दोलनबारे ओलीको विश्लेषण
ओलीले संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई लत्याएर सरकार गठन गरिएको आरोप लगाए । ‘संवैधानिक बाटो बनाउन सकिने अवस्था छँदाछँदै असंवैधानिक बाटोबाट सरकार बन्यो,’ उनले भने, ‘पहिलो निर्णय नै संसद् विघटन गर्ने सर्तमा सरकार गठन भयो ।’ उनले संसद्बाटै संविधान संशोधन गरेर विशेष परिस्थितिमा ६ महिनाका लागि गैर-सांसदलाई प्रधानमन्त्री बनाउने प्रावधान राख्न सकिने विकल्प हुँदाहुँदै असंवैधानिक कदम चालिएको बताए ।

हालैको युवा आन्दोलनलाई आफूले तीन भागमा हेरेको बताउँदै ओलीले ‘जेनजी’ हरूको वास्तविक माग भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल खुलाउनु रहेको बताए । तर, पछि आन्दोलनमा घुसपैठ भएको र केही अराजक समूहले तोडफोड र आगजनीको तयारी गरेको उनको दाबी थियो । उनले भने, ‘जेनजी भनिएका हाम्रा भाइबहिनीहरू फर्किए, तर केहीलाई तिनै तत्वहरूले छेकेर, घेरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर लगे ।’
उनले २३ गतेको गोलीकाण्ड र २४ गतेको आगजनी तथा लुटपाट सुनियोजित षड्यन्त्रको तयारी भएको आरोप लगाए । आफूले २३ गते नै गोलीकाण्डको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराइसकेको पनि उनले स्मरण गराए ।

मेरो सम्पत्ति छानबिन गर्नुस्
अध्यक्ष ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् । ‘एउटा टोली बनाएर छानबिन गर्नुस् न हो,’ उनले भने, ‘मेरो घरको डढेको खरानीको कणकण तपाईंहरूले हिसाब गर्नुपर्नेछ, किनकि त्योबाहेक अरू चिज त छैन मसँग ।’
उनले आफूले सांसद र मन्त्रीको हैसियतमा प्राप्त गरेको केही तलबबाहेक बैंकमा पैसा नभएको बताउँदै आफूलाई भ्रष्टाचारमा जोड्न खोज्नु व्यर्थ भएको बताए । उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’

उत्तराधिकारी र उमेरको प्रश्न
पार्टीमा उत्तराधिकारी तयार नगरेको भन्ने आरोपको खण्डन गर्दै उनले एमालेमा सयौँ नेताहरू नेतृत्व गर्न सक्षम रहेको बताए । उनले भने, ‘सयौँ नेता नेकपा एमालेमा छन्, हजारौँ नेता छन् । विभिन्न तहको नेतृत्व गर्न सक्ने मान्छे छन् ।’

उमेरको विषयमा टिप्पणी गर्दै उनले आफू ७३ वर्षको भएको र विश्वका अन्य शक्तिशाली देशका नेताहरू पनि आफूभन्दा जेठा वा उस्तै उमेरका रहेको उदाहरण दिए । उनले भने, ‘अमेरिकाजस्तो विश्व महाशक्ति चलाउने मान्छे ८१ का हुनुहुन्छ । बंगलादेशमा ८५ वर्षका हुनुहुन्छ, ७६ का भारतमा हुनुहुन्छ । म ७३ मात्रै पूरा भएको छु ।’

यस्तै ओलीले सम्पादकसँगको संवादका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निवासमै कूटपिट र आक्रमण गरेको घटना न्यायसंगत नभएको भन्दै त्यस विषयमा मिडियाले केही नलेखेको गुनासो गरे ।


प्रकाशित : २०८२ कार्तिक २, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप