
काठमाडौं– मेलम्ची खानेपानी संघर्ष समिति सरकारविरुद्ध सडकमा उत्रिएको छ । काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै गरेको प्रदर्शन प्रहरीले तितरवितर पारेको हो ।
यसअघि अर्थमन्त्री प्रकाशशरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापनपत्र बुझाई सकेको समिति आज तीनकुने क्षेत्रमा सरकारलाई दवाव दिन पुगेको थियो ।
उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर’, ‘मेलम्चीको पानी तुरुन्त खोल’ लगायतका नारा लेखेका पोस्टर र पम्प्लेट, रित्तो गाग्री, बाल्टिनलगायतका सामग्री बोकेर प्रदर्शन गरेका थिए ।
प्रर्दशनमा नेपाल व्यापार संघका अध्यक्ष समेत रहेका व्यवसायी हरि गौतमले १७ अर्ब खर्च गरेर पनि नेपाली जनताले मेलम्चीको पानी खान नपाएको भन्दै आक्रोश पोखे ।
उनले यो राजनीति नभई पानीको आन्दोलन भएकोले छिटोभन्दा छिटो पानी काठमाडौं आउनु पर्ने बताए ।
उनले भने– ‘पानी नदिने मेलम्चीको नाममा खाइरहन पाइन्छ सरकार पाईँन्, हामी मान्दैनौ, नेपाली जनतालाई झुक्काउन पाइन्छ ? मेलम्चीको नाममा १७ अर्ब खर्च गर्ने तर हामीले पानी नपाउने ? नेपाल जलस्रोतमा दोस्रो धनी देश हो, यस्तो देशमा पनि पानी नपाउने, हामीलाई हेप्ने, यो राजनीतिको आन्दोलन होईन, पानीको आन्दोलन हो ।’
प्रर्दशनमा उत्रिएकाले तीनकुनेको बाटो अवरोध गरेपछि प्रहरीले उनीहरूलाई धकेलेर भीड तितरवितर पारेको हो ।
अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन । करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएको, मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स) सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएको तथा मेलम्चीमाथि नै बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौंवासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न मागगर्दै आज विरोध र्याली निकालेका हुन् ।


समाचार


